पुरा हुदै केपी वलीको सपना ।। नमूना सडक बन्यो आठ लेनको चक्रपथ|| Ringroad

समाचार

नमूना सडक बन्यो कोटेश्वर–कलंकी चक्रपथ चक्रपथको निमार्णसँगै काठमाण्डौ धुलोधुँवा मुक्त बन्ने

काठमाडौंको अधिकांश सडकको धुलाम्य वातावरणमा पनि मानिसहरूको दैनिक भागदौड चलिरहेकै छ । पैदल यात्रुलाई बाटो काट्न सकस पर्छ । ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन घाम पानी नभनी निरन्तर सडक बीचमा खटिएका ट्राफिक प्रहरीहरु व्यवस्थित तरिकाले सवारी साधन पास गराउन व्यस्त छन् । ट्राफिकको ‘ग्रीन सिंगनल’ देख्ना साथ सवारीचालकहरु तँछाड मछाड गर्दै जोडका साथ सवारी हाँक्छन् ।
अस्त व्यस्त सडकमा निरन्तर धुवाँ धूलो उडिरहे पनि मास्क लगाएरै सडक किनारमा व्यापार गर्ने व्यापारी र ग्राहक बीच सामानको मोलमोलाई चलिरहेकै छ । हिउँद वर्षा केहि नभनी अधिकांश समय धुलाम्य रहने सडकको बीच भागमा परेका ससाना खाल्डा खुल्डीमा जमेको पानी र हिलोले पनि सवारी चालक र पैदल यात्रुको दैनिकीमा समस्या माथि समस्या थपी दिएको छ ।
यहि समस्याहरुको समाधान गर्नका लागि विस्तार गरिएको चक्रपथ परिक्रमा अन्तर्गत ८ लेन विस्तारको कलंकी–कोटेश्वर सडक निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । चिनियाँ सरकारको ५ अर्ब आर्थिक एवं प्राविधिक सहयोगमा कलंकी–कोटेश्वर चक्रपथ सडकखण्डको ५० मिटरको साँघुरो सडकलाई ८ लेनको फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको हो ।
यो सडकखण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई दुई लेनका सर्भिस सडक र साइकल ट्रयाक बनाइएको छ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप पनि निर्माण हुनेछ । अब यो सडकखण्ड ३८ दशमलव पाँच मिटर फराकिलो भएको छ ।
विस्तारको क्रममा रहेको कोटेश्वर कलंकी खण्डको पहिलो ५ किलोमिटर सडकखण्डमा ८ लेनमा नै सवारी गुड्न सुरु भइसकेको छ ।
कलंकी कोटेश्वर खण्डमा ४ वटा मोटरेबल पुल बनाइएको छ । पुरानो पुलमा लेन थपेर त्यसलाई सडकको चौंडाइअनुरुप विस्तार गरिएको छ । पुरानो पुलको समेत मर्मत गरिएको छ । कंलकी खसीबजार, बागमती पुल, बल्खु खोला र बालकुमारीस्थित मनोहरामा मोटरेबल पुल निर्माण सम्पन्न भएको हो । चीन सरकारको आर्थिक सहयोगमा कलंकी–कोटेश्वर खण्डको १०.३९ किलोमिटर सडक विस्तार भइरहेको हो । कोटेश्वरदेखि बल्खुसम्मको सडक विस्तारका क्रममा बल्खुतर्फ सव ग्रेड अर्थात् पुरानो माटो हटाएर नयाँ माटो राखिएको छ ।
चीनको सांघाइ कन्सट्रक्सन ग्रुपले २०७० असारदेखि २०७३ पुस महिनासम्ममा सडक विस्तार गर्ने गरि उक्त सडकखण्ड विस्तारको काम सुरु गरेको थियो । २०७२ सालको भूकम्प र नाकाबन्दीका कारण कम्पनीले लक्ष्य अनुसारको काम गर्न नसक्दा कम्पनीले २०७५ असार महिनासम्ममा काम सक्नेगरी समय थप गरेको थियो ।
भूकम्प, नाकाबन्दी, बन्द–हड्ताल भएसँगै सरकारले बालुवा र ढुंगागिट्टी खानीमा प्रतिबन्ध लगाएकाले काममा ढिलाइ भएको हो । कम्पनीको आन्तरिक कारण र सरकारका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा पनि सडक विस्तारको गति सुस्त बनेको हो । त्यस्तै, सुरुको डिजाइनमा ११ ठाउँमा परिवर्तन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय, खसीबजार, सीता पेट्रोल पम्प, सानेपा हाइट, बागडोल, एकान्तकुना लगायत ठाउँमा डिजाइन फेरिएको हो । २५ मिटरको सडकमा फिलिङ गर्दा ३२ मिटर हुन गएकाले डिजाइन फेरेर २२ मिटर कायम गरिएको थियो । डिजाइन परिवर्तनका कारण विद्युत प्राधिकरणले त्रिवि र खसी बजार क्षेत्रका बिजुली खम्बा हटाउन ढिला गरेको थियो । चिनियाँ कम्पनी छिटो काम गर्ने भन्दै चर्चित भए पनि यहाँ भने सुस्त भएको छ ।
आठ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट प्रवेश पाउँदैन । सरकारले सडकको सुरक्षा र धुलो रहित बनाउ भन्दै दायाँबायाँ निर्माण गर्न लागेको ६ मिटरको सर्भिस ट्र्याकमा भने स्थानीले अवरोध गरेका छन् । यो सडक हाम्रै लागि हो भनेर स्थानीयले बुझ्न नसक्दा समस्या आएको हो ।
विस्तारपछि यो सडक ३८ दशमलव ५ मिटर फराकिलो भएको छ । रेलिङ निर्माण र फुटपाथमा पेन्टिङ गर्ने काम छिटै सकिने बताए पनि सडक सुधारको काम थालेको भने ४ वर्ष बढी भइसकेको छ । १०.३९ किलोमिटर दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको हो ।
चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराएको छ । कम्पनीले निमार्ण कार्य थालेको ३० दिनमा ५० र ६० दिनमा थप २० प्रतिशत रकम पाउने सम्झौतामा उल्लेख गरिएको छ । सडकको मुख्य काम सकिएपछि अर्को २० र हस्तान्तरणको एक महिनालगत्तै बाँकी १० प्रतिशत रकम दिइने छ । जसअनुसार कम्पनीले ७० प्रतिशत रकम बुझिसकेको छ ।
सांघाईले सडक निर्माणको कामभन्दा बढी अहिलेसम्म ७० प्रतिशतभन्दा बढी रकम पाइसकेकोे छ । यसको निर्माण लागत ३१ करोड २० लाख आरएमबी (चिनियाँ मुद्रा) हो । चीन सरकारले कम्पनीलाई सोझै पैसा दिने भएकाले यसमा नेपाल सरकारको कुनै सम्बन्ध भने हुँदैन ।
सडक विस्तारमा नेपाल सरकारले करिब ५० करोड लगानी गरेको छ । विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी र ढल निकासका संरचना हटाउनका लागि सो रकम खर्च गरिएको हो । प्राधिकरणले मात्र १० करोड लगिसकेको छ ।
आयोजनाको आधा भाग र त्यसमा पनि जटिल कार्यहरु धेरैजसो सम्पन्न भइसकेको र अब गर्नुपर्ने काम धेरै देखिए पनि काम सहज भएकोले समयमै सम्पन्न हुने बताइएको छ । हाल साइड लेनमा बेस हाल्ने, कम्प्रेसन गर्ने काम सकि बीच भागमा फाइनल लेयर राख्ने काम भइरहेको छ ।
अहिले विस्तारको कामका कारण अव्यवस्थित भएको यो खण्ड आगामी असारपछि भने भक्तपुरको ८ लेनभन्दा कम्तिको नहुने दावी चक्रपथ विस्तार आयोजनाको छ । विस्तारको काम सकिएपछि चक्रपथको कोटेश्वर कलंकी सडकखण्ड आकर्षक मात्रै हुने छैन, यसले अब विस्तार हुने चक्रपथको नमुना स्वरुप पाउने छ । आगामी असारपछि सो सडकखण्डको क्षेत्रमा अहिले उडिरहेका धुलो निमिट्यान्न हुँदा स्थानीय र यात्रुहरुलाई सहज हुने दावी सरकारको छ ।
त्यस्तै, पहिलो चरणको कोटेश्वर कलंकीको काम सकिने बित्तिकै सोही ढांचामा दोश्रो चरणमा कलंकी महाराजगञ्जको १७ किलोमिटरको सडक ८ दशमलव २ किलोमिटर सडक पनि ८ लेनको फराकिलो बनाइने भएको छ । दोस्रो चरणमा कलङ्कीबाट महाराजगञ्जसम्म ८.५ किमी सडक विस्तारको गृहकार्य शुरु भएको छ । अहिले दोस्रो खण्डको अध्ययन प्रतिवेदनको अध्ययन भइरहेको छ ।
आगामी साउन महिनासम्म यो सडक खण्डको पनि प्रारम्भिक डिजाइन तयार भए लगत्तै काम थालिने छ । यो खण्ड विस्तारका लागि पनि चीन सरकारले नै अनुदान सहयोग गर्नेछ । सतप्रतिशत अनुदानमा विस्तार हुने यो सडक निर्माणको लागत भने अझै यकिन हुन सकेको छैन ।
चिनियाँ पक्षले सडकमा रहेका अवरोध हटेपछि मात्रै निर्माणसम्बन्धी सम्झौता गर्ने भनेसँगै काठमाडौं चक्रपथ सुधार योजनाद्धारा कलंकीदेखि महाराजगन्जसम्मको सडक छेउमा पर्ने भौतिक संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको थियो । विभागले आगामी असार १५ सम्ममा त्यस क्षेत्रमा रहेका भौतिक संरचनाहरु हटाएर निर्माणका लागि खाली गराउनुपर्ने छ । संरचना खाली गराएपछि विभागले चिनियाँ पक्षलाई फाइल बुझाउने र त्यसको लगत्तै कलंकी महाराजगन्ज चक्रपथ विस्तारको काम सुरु हुनेछ ।
सडक विभागले आगामी असार महिनापछि उत्क्त सडकलाई ८ लेनको सडक बनाउने गरि डेढ महिना अघि चीन सरकारसँग साझेदारी सम्झौता (एमओयु) गरेको हो । सो सडकखण्डको डिजाइन ‘कोटेश्वर–कलंकीसडकखण्डभन्दा केही हेरफेर गरिने छ । सडकबत्ती, साइकल ट्र्याक, फुटपाथ र ट्राफिक संकेतलाई महत्व दिएर सडक सुधारको काम गरिने छ । ट्राफिक जाम कम गर्न महाराजगन्ज र नयाँ बसपार्क जाने सडकतर्फ अन्डरपास बनाइने छ । सडक बीचबाट दुवैतर्फ ३१–३१ मिटर चौडा भएको सडकमा आठ लेनको सडक बनाइने छ । जसमा फुटपाथ, साइकल लेन, सडकबीचमा मेडियमलगायत पूर्वाधार रहने छ ।
नेपाल र चिनियाँ सरकारको समन्वयमा कलंकी–महाराजगन्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गरिने भएको हो । ६२ मिटरको चौडाईमा बन्न लागेको सो सडकको मूख्य लेन १५ मिटर, ६÷६ मिटर पहुँचमार्ग अर्थात् एक्सेस रोड, साढे सात मिटर दायाँवायाँ ट्रयाक सर्भिस, अन्य स्थानमा पर्खाल र हरियालीले भरिपूर्ण सुविधा सम्पन्न सडक निमार्ण गर्ने सरकारको लक्ष्य रहेको छ ।
पहिलो चरणको ५ वर्षे निर्माण अनुभवबाट दोस्रो चरणको काम थप व्यवस्थित हुने परियोजना व्यवस्थापकको भनाइ छ । नेपालले चाहेको खण्डमा आफूहरु काठमाडौंको पूरै चक्रपथ विस्तार गरिदिने चीनले पहिल्यै बताइ सकेको छ ।

हेर्नुहोस् पूरा भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *